भदौ २२, काठमााडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले वर्तमान कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको परमादेशको सरकार र अध्यादेशको लोकतन्त्रको उपहास भएको बताउनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले हटाई परमादेश जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको थियो ।
कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकिकृत समाजवादी) तथा जनमोर्चासहितको गठबन्धनको परमादेशको सरकारले अध्यादेश ल्याई एमालेलाई विभाजन गरी एमालेबाट फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी बनेको छ । सोही प्रशंगलाई नेता पोखरेलले परमादेशको सरकार र अध्यादेशको पार्टीले शुरु गरेको विकृति र विसंगतिबाट लोकतन्त्र समेत संकटमा पर्ने बताउनुभयो । लोकतन्त्रलाई जोगाउन एक मात्र विकल्प निर्वाचन भएको उल्लेख गर्दै नेता पोखरेलले निर्वाचन नै सवैभन्दा सुरक्षित उपाय भएको औंल्याउनुभयो ।
आज उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘परमादेशको सरकार र अध्यादेशको पार्टी लोकतन्त्रको उपहास हो । यी दुवैले सुरुगरेको विकृती र विसंगतिवाट लोकतन्त्र नै संकटमा पर्दैछ । त्यसवाट लोकतन्त्रलाई जोगाउन चुनाव नै सबैभन्दा सुरक्षित उपाय हो । त्यसैले अहिलेदेखि तयारीमा जुटौ ।’
