साउन २३, काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-६ बासुकी चोक बस्ने कनक बहादुर तामाङको जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नयाँवस्ती बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका २८ वर्षीय प्रेम तामाङ समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई ४२ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीस्थित पूर्ण सुनुवारको शेर्पा रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । रेष्टुरेण्टमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ५ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै मोरङ, विराटनगर महानगरपालिका-१२ स्थित संगम गीत गजलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार २ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।
स्याङ्जा, वालिङ नगरपालिका-९ भुम्रे बस्ने लोक बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।