बैशाख २४, मकवानपुर । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा आज शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल, डा। खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले उम्मेदवारीपत्र मनोनयन दर्ता गराउनुभएको हो ।

बादलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट, देवकोटाले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माधव नेपाल समुह र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षकोको तर्फबाट र तामाङले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि ३४८ जना मतदाता रहेका छन् । निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बागमती प्रदेशको प्रदेश सभा सदस्य ११० जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित २३८ जना गरी ३४८ मतादाता रहने जानकारी दिनुभयो ।