फागुन २३, काठमाडौँ। सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादसम्बन्धी मुद्दामा आज फैसला हुँदैछ । ऋषि कट्टेलले आफू नेतृत्वको पार्टीको नामसँग मिल्दोजुल्दो नाम अन्य पार्टीको समेत राखेको भन्दै २०७५ मंसिर ५ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उक्त मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उक्त मुद्दामाथि सुनुवाइ हुँदैछ । यसअघि यही फागुन २० गते बिहीबार सो मुद्दाको फैसला सुनाउने मिति तय भएको थियो । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सो दिन शोक बिदा दिइएकाले अदालत बन्द रह्यो ।
हाल निर्वाचन आयोगमा नेकपा नामबाटै सत्ताधारी दल पनि दर्ता छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो । नाम जुधेको भन्दै कट्टेलले अदालतमा मुद्दा हालेका थिए ।