पौष २३, बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो ।
जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ नागरिक रहेको प्रहरीेले जनाएको छ ।
केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरका अनुसार आर्थिक वर्ष २०७५र७६ देखि हालसम्म ४८१ महिला, २२० बालिका, ९९ बालक र आठ ज्येष्ठ नागरिक हराएको हुँदा उनीहरुको आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दर्ता गराएका छन् । हराएकामध्ये ६८२ महिला तथा बालबालिका घर फर्किसकेका छन् भने १२६ जना अझै फेला पर्न नसकेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन् । तीमध्ये ९२ जना हराएका महिला तथा बालबालिका घर फर्किसकेको सहायक निरीक्षक मगरले जानकारी दिनुभयो । हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुन सक्ने अनुमान प्रहरीको छ ।