भदौ, २१ काठमाडौं । भद्रपुरमा फिल्मी शैलीमा डकैती गर्ने योजना बनाएका चार युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१४ निवासी २७ वर्षीय कृष्ण बिर्जा, सोही वडाका १९ वर्षीय शैलेश राजवंशी, २० वर्षीय विष्णु भण्डारी र १९ वर्षीय कमल विश्वकर्मा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
कृष्ण जन्माष्टमीको राति साढे ११ बजे भद्रपुर-९ स्थित प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नाबालक छोरा मात्र भएको अवस्थामा झ्यालको रड बङ्ग्याएर उनीहरू डकैत गर्न पुगेका थिए।
तिम्सिनाको घरमा दुई जना डाकाको रुपमा घरमा प्रवेश गरेका थिए, भने दुई जना प्रहरी पोसाकमा पुगेका थिए। घरधनी तिम्सिना करिब २ किलोमिटर टाढा रहेको मन्दिरमा पूजापाठ गर्न गएको मौका छोपी उनीहरू घरमा प्रवेश गर्दै झ्यालको रड बङ्ग्याउन थालेका थिए।
झ्यालको रड बङ्ग्याउन थालेको देखेपछि तिम्सिनाकी श्रीमतीले प्रहरीलाई खबर गर्न योजना बनाइन्। तर, तत्काल दुई जना प्रहरी पोसाकमा हातमा खुकुरी बोकेर घरमै आइपुगे। त्यसपछि चारै जना मिलेर घर वरिपरि घुमफिर गरी त्यहाँबाट हिँडेका थिए।
तिम्सिना आएपछि श्रीमतीले घटनाको विषयमा सुनाएपछि स्थानीय मिलेर खोजतलास गर्दा उनीहरूलाई कृष्ण मन्दिरनजिक फेला परेका थिए। स्थानीयले उनीहरूलाई सोधपुछ गर्दा ‘हामी प्रहरी हौँ, दुई जनाले घरमा डकैती गर्दै गर्दा पक्राउ गरी प्रहरी चौकी लान खोजेको बताए। तर, केही स्थानीयले उनीहरू प्रहरी नभएको चिनेपछि त्यहाँबाट फरार भएको डिएसपी थापाले बताए। त्यसपछि घटनाको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेपछि चार जनालाई भदौ १८ गते पक्राउ गरिएको उनले बताए।
प्रहरीले उनीहरूको साथबाट नेपाल प्रहरीको टाटे पाङग्रे कम्ब्याट ड्रेस एक जोर, सादा चुस्ता ड्रेस एक जोर, कालो रङको छालाको बुट एक जोर र खुकुरी बरामद गरेको थियो। पक्राउ परेका चारै जना डाँका सम्बन्धी मुद्दा दर्ता गराई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको छ।