साउन २२, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनको विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०७७ अन्तर्गत गरिएको कार्यसम्पादन सम्झौता अनुरुप प्रहरी कार्यालयका प्रमुखहरुले पूर्ण व्यावसायिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा भर्चुलरुपमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आर्थिक वर्ष २०७८/०७९ को लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फ्रेन्स मार्फत् १ नम्बर प्रदेश प्रहरी कार्यालय, २ नम्बर प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय, लुम्बिनी प्रदेश प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीले पेशागत, व्यावसायिक, नैतिक आचरण र व्यवहारलाई आधार मानेर कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । वार्षिक कार्यसम्पादन सम्झौता अनुरुप गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष अपराध रोकथाममा उल्लेखनीय प्रगति हासिल भएको चर्चा गर्दै उहाँले सबै प्रदेश प्रहरी कार्यालयहरुले एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो । गत आर्थिक वर्षको अपराध तथ्याङ्क विश्लेषण गरी सोही अनुरुप आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जघन्य अपराधप्रति संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।