पौष २२, लहान। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुखले जानकारी दिनुभयो ।
लाइन काट्न शुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरुको विद्युत् लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ । प्रमुख यादवका अनुसार पहिलो चरणमा रु ५० हजारभन्दा बढी महसुल बक्यौता भएका ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु ३० करोड १६ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको जनाएको छ ।