बैशाख २२, काठमाडौँ । खुद्रा मूल्य २२० देखि २४० रुपैयामा पाइने खाने तेलको मूल्य अहिले भने प्रतिलिटर ३० देखि ४० रुपैयाँले बढेर २७५ देखि २८० रुपैयाँ पुगेको छ । अहिले आम उपभोक्ताले एक लिटरको एक पाटेक सन फ्लावरको तेल किन्नको लागि २८० रुपैयाँ खर्च गर्नुपर्छ । भटमासको तेल किन्न २७५ रुपैयाँ र तोरीको तेल किन्न ३ सय रुपैयाँ खर्च गर्नु पर्ने भइसकेको छ । १५ दिन अघिसम्म प्रतिलिटर खाने तेल २४० देखि २५० रुपैयाँमा पाइन्थ्यो ।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो समय तेलको मूल्य अत्यधिक रुपमा बढ्दै गएको छ । १५ दिनमा प्रतिलिटर तेलको मूल्यमा ४० रुपैयाँले वृद्धि हो । ‘पछिल्लो समय तेलको मूल्य अचाक्ली बढेको छ,’ उनले भने ‘खाने तेलमा पनि सबैभन्दा बढी मूल्य वृद्धि भटमासको तेलको भएको छ ।’ १ वर्षको अवधिमा प्रतिलिटर तेल १ सय रुपैयाँले वृद्धि भइसकेको छ ।’ गत वर्षसम्म सनफ्लावर र भटमासको तेल १५५ देखि १७० रुपैयाँसम्म पाइन्थ्यो । तर, अहिले मूल्य आँकासिएको छ ।
खुद्रा व्यापार संघले वैशाख ७ गते प्रकाशित गरेको तेलको खुद्रा मूल्य अुनसार प्रतिलिटर सनफ्लावर तेलको मूल्य २४० रुपैयाँ छ भने भटमासको तेलको मूल्य २२० रुपैयाँ छ । अहिले दुबै तेलको मूल्य बढेर २७० देखि २८० रुपैयाँसम्म पुगेको छ । आम सर्वसाधारणले खाने भनेको भटमास तथा सनफ्लावरको तेल हो । यसमै अत्यधिक मूल्य वृद्धि भएका कारण आम उपभोक्ता यो महामारीमा अझ मारमा परेका छन् ।