कात्तिक १८, काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । कांग्रेसमा १३ जिल्लामा अझै वडा अधिवेशन हुन बाँकी छ । प्रदेश दुईका आठ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन हुन सकेको छैन ।
समितिले कैलालीमा यसअघि नै जिल्ला निर्वाचन अधिकृत पठाइसकेको छ । कैलालीमा टेकप्रसाद सुवेदीालाई मतदान अधिकृत तोकिएको हो । समितिले बुधबार साँझ मतदान अधिकृतको नाम टुंगो लगाएको हो । समितिका अनुसार सप्तरीमा डा। रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, रौतहटमा दीपकराज गिरी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी र पर्सामा नरेन्द्र केसीलाई पठाइएको हो । त्यस्तै सुर्खेतमा मदन रेग्मी, बाँकेमा रेवतीरमण भट्टराई, डोल्पामा कुमारराज श्रेष्ठ र रसुवामा सुमन कुमार केसीलाई तोकिएको निर्वाचन समितिले जनाएको छ ।
रसुवा र रौतहटमा क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी छ । सदस्यता नटुंगिएपनि निर्वाचन समितिले भने निर्वाचन अधिकृत तोकेको हो । निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ को मिति तोकेको छ । परिमार्जित कार्यतालिका अनुसार पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर २ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।