साउन २०, काठमाडौँ । नेपाली काँग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ । पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिई सदस्यता टुङ्गो लागेपछि स्थानीय तह अधिवेशनको कार्यतालिका सार्वजनिक गरिने भएको छ ।
महाधिवेशन तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको मतदाता रहेका क्रियाशील सदस्यताको विवाद मिलेपछि अधिवेशन सम्पन्न गर्न सहज हुने बताउनुभयो । यसअघि बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विवाद देखिएका जिल्लाको विवाद मिलाउने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिँदै पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । उहाँले पार्टीमा विशेष महाधिवेशनको सम्भावना नरहेको र पार्टी सभापति देउवा विशेष महाधिवेशन नभई विधिवत् रूपमा पूर्ण महाधिवेशनकै पक्षमा रहनुभएको जानकारी दिनुभयो । यसअघिको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि सभापति देउवाले आफू भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहेको बताउनुभएको थियो ।
पार्टीमा अब धनुषा, सर्लाही, बारा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी छवटा जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान गर्न बाँकी छ । बाँकी सबै जिल्लामा क्रियाशील सदस्यताको विवादको छिनोफानो भइसकेको छ ।