वैशाख २१, कैलाली । कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय पुरुष र महाकाली अस्पतालमा उपचाररत भीमदत्तनगरपालिका १८ का ७८ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय पुरुषको इमरजेन्सी वार्डमा मृत्यु भएको हो ।
त्यस्तै, महाकाली अस्पतालका कोभिड १९ सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार कोरोना संक्रमण देखिएपछि चार दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेकी भीमदत्तनगरपालिका १८ का ७८ वर्षीय महिलाको सोमबार साँझ मृत्यु भएको हो ।