असार १९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । खेलको ४२ औं मिनेटमा जोकिम माहेलको पासमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । ४९ औं मिनेटमा काउफलको पासमा प्याट्रिकले गोल गर्दै चेकलाई २-१ को स्थितिमा ल्याए ।
अब डेनमार्कले सेमिफाइनलमा युक्रेन र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।