माघ २१, डोटी। डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिए ।
जिल्लामा जम्मा एक हजार ६२० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भए पनि त्यो समय बढाएर यही माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय बढाएको अस्पतालले जनाएको छ ।