• २०८३ बैशाख २८ गते सोमवार

एमालेमा निवर्तमान अध्यक्षको मर्यादाक्रम निर्वाचित अध्यक्षपछि रहने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १६, काठमाडौं । नेकपा एमालेमा निवर्तमान अध्यक्षको मर्यादाक्रम निर्वाचित अध्यक्षपछि रहने प्रस्ताव पेश भएको छ। ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णु पौडेलले यस्तो प्रस्ताव पेश गरेका हु्न्।

‘केन्द्रीय कमिटी दुई महाधिवेशनबीचको अवधिमा पार्टीको सर्वोच्च संस्था हुनेछ। यो कमिटी राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्प्र‍ति उत्तरदायी हुनेछ‚’ प्रस्तावमा उल्लेख छ, ‘राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भई शपथ ग्रहण गरेपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटन हुनेछ।’

पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने पनि उल्लेख गरेको छ। प्रस्तावमा उल्लेख छ, ‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादा क्रम अध्यक्षपछि रहनेछ।’

विधानमा पेश भएको संशोधन प्रस्तावमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, ६ सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने उल्लेख छ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि छलफल जारी छ। समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा पेस गरिनेछ। तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सार संक्षेपीकरण गरिनेछ।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन्। महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ। पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका बेला देशभरका प्रतिनिधिमुलक कार्यकर्ता बोलाएर एमालेले विधान महाधिवेशन आयोजना गरेको हो। महाधिवेशनमा विगतमा नेता नेपाल निकट रहेका नेता कार्यकर्ताको पनि उपस्थितिले पार्टीमा नयाँस्तरको घुलमिल र एकताभाव देखिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस