असोज १६, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चीनको आर्थिक प्रगतिलाई ‘अभूतपूर्व’ संज्ञा दिएका छन् । भारतसँग भने अझैसम्म छिमेकी मुलुकका विवादित विषय समाधान नभएको उल्लेख गरेका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले अन्तर्राष्ट्रिय परिस्थिति र भूराजनीतिका मूलभूत पक्षबारे आफ्नो धारणा लेख्दै चीन र भारतबारे विश्लेषण गरेका हुन् ।
ओलीको प्रतिवेदन पढ्दा भारतप्रति यसअघि राखेको धारणा ओलीले खासै बदलेको देखिँदैन । चीनप्रति उनको स्थिर र सकारात्मक भाव पनि यथावत् नै छ । नेपालले २०७२ सालमा संविधान जारी गरेसँगै भारतले नाकाबन्दी लगाएको थियो । सूक्ष्म आन्तरिक व्यवस्थापनसम्म हात हालिरहेको भारतीय रवैयाको ओलीले विरोध गरेका थिए । भारतविरोधी भाष्यकै भरमा एमालेले चुनाव जितेको थियो भने ओली प्रधानमन्त्री चुनिएका थिए ।
पछिल्ला वर्ष मौखिक कटाक्ष गरेपनि ओलीको व्यवहार भने खासै भारतविरोधी थिएन । २०७७ कात्तिक ५ गते बालुवाटारमा भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्तकुमार गोयलसँग गोप्य भेट गरेपछि पार्टीभित्रै ओलीको चर्को विरोध भएको थियो । त्यसपछि उनको सत्ता बहिर्गमन गति झनै बढेको थियो ।
भारतसँग बोली र व्यवहारमा विरोधाभास सम्बन्ध राखेका ओलीले कागजी प्रतिवेदनमा भने अझै दक्षिण छिमेकीप्रति तुस बाँकी राखेका छन् । ‘भारतसँग नेपाल लगायत विभिन्न छिमेकी मुलुकका कतिपय विवादित विषय अझै समाधान हुन सकेका छैनन्,’ ओलीले प्रतिवेदनमा लेखेका छन् ।
चीनको हकमा भने ओली प्रशंसा खर्चिएका छन् । लेखेका छन्, ‘चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा चीनले हासिल गरेको प्रगति अभूतपूर्व छ । सन् २०२० मा चीनले आफ्ना सबै नागरिक गरिबीबाट मुक्त भएको घोषणा गरेको छ । चालीस वर्षको अवधिमा ८० करोडभन्दा बढी नागरिकलाई गरिबीबाट मुक्त गर्न सफल चीन विश्वमै उदाहरणीय बनेको छ । चीनले औसत रूपमा समृद्ध समाजवादी राष्ट्र बन्ने पहिलो शताब्दी लक्ष्य हासिल गरेको छ । यस सफलताका लागि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता बधाईका हकदार छन् ।’