जेठ १९, झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजन सहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
नगर अस्पतालमा अक्सिजन सहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम सङ्कलन गरेको थियो । सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी रु छ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव सुभास भट्टराईले जानकारी दिए । उनकाअनुसार प्रतिसिलिण्डर रु १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ। उनले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताए । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको छ ।
मेचीनगर हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने दैनिकरूपमा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको मेचीनगर नगरपालिकाले अब हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने भएको छ । नगरपालिकाले नगरमा कोभिड–१९ को सङ्क्रमितको दर घटेसँगै पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हप्तामा दुई पटक र एन्टिजेन परीक्षणका लागि चार दिन स्वाब सङ्कलन गर्ने भएको हो ।