चैत २०, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणको औपचारीक रुपमा शुभारम्भ गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभयो । त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गर्नुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौँमा वितरण सुरु गरिएको छ । हाल काठमाडौँ उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो । मेलम्चीको पानी काठमाडौँ उपत्यकाको चक्रपथभित्र वितरण हुने उहाँले बताउनुभयो ।