• २०८३ बैशाख ८ गते मङ्गलवार

बाढीपहिरो पीडितलाई राहत वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मङ्सिर १५,डोटी । गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढीपहिराले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ ।

वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण गरेको हो ।

उक्त संस्थाले पीडित परिवारलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका स्वयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । यसैगरी उक्त बाढीपहिरामा परी ज्यान गुमाएका यहाँका छजनाको परिवारलाई राहतसँगै नगद रु पाँच हजार पनि प्रदान गरिएको छ ।

संस्थाले जिल्लाकै आदर्श गाउँपालिका–५ का १२४ घरपरिवारलाई पनि राहत वितरण गरेको छ । बाढीपहिरामा परी खेतीयोग्य जमिन र घरबारविहीन भएका यहाँका नागरिकलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका सोयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो ।

बाढीपहिरा पीडितले स्थानीय सरकारसँग राहत तथा व्यवस्थापनका लागि पटकपटक माग गरे पनि तत्काल दिन सकिने अवस्था नभएपछि साइन नेपालले राहत सहयोग गरेको वडाध्यक्ष टीका सिंहले बताउनुभयो । जिल्लामा विपद्, महामारीलगायतका घटना हुँदा उक्त संस्थाले विभिन्न कार्यक्रम ल्याएर यहाँका नागरिकलाई राहत प्रदान गर्ने गरेको आदर्श गाउँपालिकाका स्थानीय हरि खड्काले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस