चैत १९, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गतका भारत सरकारबाट अनुदान सहयोगमा निर्माण सम्पन्न १३ वटा सडक खण्ड भारत सरकारले बुधवार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमा आयोजित हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले सयुक्त रुपमा बटन थिचेर भर्चुअल समुद्घाटन गर्नुभयो । हुलाकी राजमार्गको जम्मा लम्बाई १८५७ किलोमिटर रहेको छ । यस मध्ये निर्माण सम्पन्न भएको २७३ किलोमिटर सडक हस्तान्तण भएको हो । हुलाकी राजमार्गको निर्माण कार्य २०६५र०६६ मा प्रारम्भ भएको थियो । २०७९ र०८० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । भारतीय सहयोग रहेको बाँकी एक खण्डको निर्माण कार्य केहि महिना भित्रै सम्मपन्न हुने गरि काम भईरहेको छ । यस बाहेक बाँकी खण्ड नेपाल सरकारको आफ्नै लगानीमा निर्माण कार्य भइरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले हुलाकी राजमार्ग विगत लामो समयदेखि अस्तित्वमा रहेको कारण आफैमा ऐतिहासिक सडक रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको मुल नारा ‘समृद्ध नेपाल सुखी नेपाली रहेको र यसलाई साकार पार्न यातायात लगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।
नेपालको विकासमा भारत एउटा ठूलो विकास साझेदार रहेको उल्लेख गर्दै भारत सरकारको सहयोगमै जयनगर-जनकपुर रेलवे निर्माण सम्पन्न भएको उल्लेख गर्नुभयो । उहाँले हुलाकी राजमार्गले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।