माघ १९, भक्तपुर । सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार एकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरेको हो ।
गत १४ गते दिउँसो किशोरीकै कोठामा पसेर डर, धम्की दिई बलात्कार गरी फरार रहेको भन्दै किशोरीले गत १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी गरेको थियो । तजलेलाई आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।