कार्तिक १४, पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ । विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिने गरेको भए पनि पोखरा अहिले भने कोरोनाको कहरले जकडिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि आउने पर्यटकका कारण विगतमा जस्तो चहलपहल नदेखिए पनि पछिल्ला दिनमा पोखराको लेकसाइड र आसपासका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक फाट्टफुट्ट देखिएका छन् ।
दशैंँको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतदेखि नै पोखरामा आन्तरिक पर्यटकको चहलपहल हुने गर्दथ्यो । विगतका वर्षमा त दशैँको भोलिपल्ट लेकसाइडमा पर्यटकले कोठा पाउनसमेत मुस्किल हुने गर्दथ्यो ।
सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । विश्वकै उत्कृष्ट १० पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकका कारण पनि यहाँ पर्यटकको चहलपहल हुन्छ । दशैंँ तिहारजस्ता चाडबाडका कारण विगतमा पर्यटन बजार चलायमान हुने विगतलाई फर्केर हेर्दा कोरोना कहरका बाबजुद पनि यस अवधिमा यहाँको पर्यटन केही मात्रामा भए पनि चलायमान बन्ने विश्वास लिइएको छ ।
दशैँ शुरु भएसँगै पोखरामा आन्तरिक पर्यटककको चहलपहल बढिरहेको पोखराको लेकसाइड सेदीडाँडामा ‘ढाकाटोपी रेष्टुरेन्ट एण्ड होटल फेवाबीच’ सञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी महेश्वर अर्यालले बताए । ‘
पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका पर्यटन व्यवसायीले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात गरिहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराका होटेल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही जस्ता धार्मिक स्थलका साथै विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय लगायतका स्थल एवं पर्यटकीय गतिवधि नखुल्दा भने पर्यटक समस्यामा पर्ने गरेको तुलाचनले बताए।
‘आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीय स्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान हुँदैन’, उनले भने, ‘पर्यटकीय गतिविधि बढाउनका लागि स्थानीय एवं प्रदेश सरकारले आवश्यक समन्वय गर्दै पर्यटकीय स्थल एवं गतिवधि तत्काल सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ ।’ पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् ।
त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् । पछिल्ला समयमा पोखरा नजिकैको पुम्दीकोट, काहुँडाडा लगायतका स्थानमा धार्मिक पर्यटकीय गतिविधि बढ्ने गरी पूर्वाधार निर्माण कार्यले पनि गति लिएको छ ।