पुष १४, काठमाडौं। संसद विघटनपछिको राजनीतिक घटना क्रम बुझ्न नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले देउवालाई बिहान उनकै निवास बूढानीलकण्ठ पुगेर भेटेका हुन् । छलफलमा देउवाका तर्फबाट नेता नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई सामेल थिए ।
उक्त भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले कांग्रेस चीनको असल मित्र रहेको बताएको देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले दिनुभयो । ‘आफू नेपाल आउनु अघि बेइजिङमा राष्ट्रपति सी चिनफिङले तपाईं देउवासँग सन् २०१९ मा नेपाल आउँदा भएको भेटको उल्लेख गर्दै आफ्नो तर्फबाट धन्यवाद दिन लगाउनु भयो,’ भट्टराईले कुओलाई उद्धृत भन्नुभयो ।
कुओले नेपालका सबै राजनीतिक दलसँग चीनले असल सम्बन्ध रहेको पनि उल्लेख गर्नुभएको थियो । उहाँले बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको असल सम्बन्ध रहेको र त्यो अहिले पनि उस्तै रहेको बताउनुभयो । उक्त टोलीलाई सभापति देउवाले अर्को वर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुग्न लागेकोमा बधाई दिनुभएको थियो । जवाफमा कुओले धन्यवाद दिँदै अर्को वर्ष चीनले भव्य कार्यक्रम गर्न लागेको र त्यसमा देउवालाई पनि सामेल हुन निम्तो दिएको भट्टराईले जानकारी दिनुभयो ।
नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएपछि चिनियाँ टोली स्थलगत अवस्था बुझ्न नेपाल आएको हो । उक्त टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । टोलीले नेकपाको अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग पनि सोमबार भेटवार्ता गरिसकेको छ।