• २०८३ कार्तिक ३० गते आइतवार

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २९, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्थप सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । उहाँले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गरी मनाउने छठ पर्वले सूर्य देवको आराधना गरी सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको उल्लेख गर्नुभएको छ । “सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृतिप्रतिको सम्मान तथा पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यवद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गरी रातभर नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको उल्लेख गर्नुभएको छ । उहाँले खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको बताउनुभएको छ ।

नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछ भनी राष्ट्रपति पौडेलले कामना गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस