पुष १३, नयाँदिल्ली। भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक आइतबार कोभिड १९ को सङ्क्रमित २० हजार भन्दा कम देखिएको थियो । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ९०१ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ८२ हजार ६६९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ ।
हाल भारतमा दुई लाख ७७ हजार ३०१ सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ७५७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४५३ जनाको मृत्यु भइसकेको छ ।