भाद्र १० , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विविधता युक्त मुलुक भएको उल्लेख गर्दै विविधता बीचको एकता र सामाजिक सहिष्णुता नै हाम्रो मौलिक विशेषता भएको बताउनुभएको छ । सुदूर पश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ ।
गौरा पर्व हाम्रो देशको सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व साथै प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले पारिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको उल्लेख गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन् । महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो ।’
हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त रहेको उल्लेख गर्दै उहाँले विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको बताउनुभएको छ । यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन यस अवसरमा म सबैमा हार्दिक आह्वान समेत गर्नुभएको छ ।
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिनु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक रहेको औंल्याउनुभएको छ । कोरोनाको संक्रणबाट जोगिन विशेषज्ञ र चिकित्सहरुको सल्लाह र एवं सरकारको निर्देशन अनुसार सामाजिक ब्यवहार गरेर सर्वोपरी रुपमा महामारीबाट जोगिन सबैमा आग्रह समेत गर्नुभयो ।