मंसिर १९, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ दुई दिने भ्रमणमा भारत पुगेका छन् । उनीसँगै सातजना मन्त्रीहरूको प्रतिनिधिमण्डल पनि आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पुटिनलाई एयरपोर्टमा स्वागत गर्न पुगेका थिए । दुवै नेताले एकअर्कालाई अंगालो हालेका थिए । मोदी तथा पुटिन एउटै गाडीमा बसेर एयरपोर्टबाट प्रधानमन्त्री निवास पुगेका थिए ।

मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनको क्रममा दुई नेताहरूबीच रक्षा सहयोगलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना मोड्युलर रिएक्टरहरूमा साझेदारी गर्ने विषयमा छलफल हुने भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।
मोदी र पुटिनबीच आज दुई महत्वपूर्ण बैठकहरू हुँदै छन्, जसमध्ये एउटा बैठकमा अरु कोही सहभागी हुने छैनन् । दुई नेताबीचको द्विपक्षीय भेटको क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौताहरूमाथि हस्ताक्षर हुने सम्भावना छ ।
आज बिहान ९ बजे भारतको राष्ट्रपति भवनमा पुटिनलाई राजकीय स्वागत गरिनेछ । त्यसपछि उनले राजघाट गएर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नेछन् । बिहान ११ बजे हैदराबाद हाउसमा २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलन आयोजना हुनेछ ।
मोदी र पुटिनले आज साँझ एक व्यापारिक फोरमलाई पनि सम्बोधन गर्नेछन् । आज साँझ पुटिनको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राजकीय रात्रिभोज दिने बताइएको छ ।
यसैबीच, पुटिन भारत भ्रमणमा दिल्ली ओर्लिएपछि बिहीबार मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भनेका छन्, “राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएँ । गीताको शिक्षाले विश्वभरका लाखौँ मानिसलाई प्रेरणा दिन्छ ।”