पौष १०, हुम्ला। हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ ।
नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षकले बताए । यस क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ ।
नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको बताए । अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ ।