मंसिर १०, रुपन्देही । सव(डिभिजन वन कार्यालय, मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा घुस रकम सहित पक्राउ परेका छन । उनले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुसमाग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट रु. १२,००० घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनिमाथी थप अनुसन्धानको सिलसिलामा सैनामैना सवडिभिजन वन कार्यालय, मुर्गीया, रूपन्देहीमा वन रक्षक पदमा कार्यरत उनले सेवाग्राहीलाई चिरान काठ ओसारपसार गर्ने सहज गरिदिएबापत घुस लिएको पुष्टि हुन आएको हो ।
अख्तियारका अनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले घुस वापत लिएको बिगो रू. १२,००० कायम गरी उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।