मंसिर १०, सुर्खेत । बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीका अनुसार मृतक टेकराजलाई राउटे समुदायका अगुवाले मङ्गलबार साँझै गाडिसकेको बताए । राउटेहरुमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन भएकाले आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ ।