मंसिर १०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय दिवसका अवसरमा जघन्य हिंसा निर्मूूल गर्ने सरकारको प्रयास पूर्ण रूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपतिले अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार दिनुभएको सन्देशमा घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मूूल गर्न सबै सक्रिय हुनुपर्ने विचार व्यक्त गर्नुभएको हो ।
राष्ट्रपतिले सन्देशमा भन्नुुभएको छ, “नेपाल सरकार संविधानको यस मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेको सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्छ । ” कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेको सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानता स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको भनाइ राष्ट्रपतिको छ । नेपालको संविधानले हिंसामुक्त न्यायिक समाज परिकल्पना गरेको छ । उहाँले बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथा जस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानुनले निषेध गरे पनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको छ भन्नुुभयो । पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन सरकार, सामाजिक सङ्घसंस्था, मानव अधिकारकर्मीलगायत सम्बद्ध सबै पक्षलाई सहकार्य गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको छ । सन्देशमा राष्ट्रपतिले भन्नुुभएको छ, “हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्छ । ” राज्यका सबै तह तथा संरचनामा लैङ्गिक मूलप्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ । राष्ट्रपतिले तीनै तहका सरकारले कोरोना महामारीको रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गरी आआफ्ना तर्फबाट भरमग्दुर प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता स् व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारा तय गरेको छ । यस नारालाई सफल बनाउन बुधबारदेखि ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सञ्चालन हुँदै छ ।