असोज ८, काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ ।उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

युएईमा मुम्बईले आइपीएलमा पहिलो खेल जितेको हो । यसअघि सन् २०१४ मा युएईमा आइपीएल हुँदा मुम्बईले ५ खेल हारेको थियो । जितपछि २ खेलबाट २ अंक जोडेको मुम्बई राम्रो रनरेटसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । कोलकाताले भने सन् २०१३ पछि आइपीएलमा आफ्नो पहिलो खेल हारबाट सुरुवात गरेको छ ।