असार १०, मुगु । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका वडा नम्बर १० चराप गाउँमा कर संकलन केन्द्र निर्माण भएको भन्दै ११ लाख रकम चलखेल अर्थात अनियमितता भएको पाईएको छ । योजना सञ्चालन गर्न क्रियाशिल रहेका उपभोक्ता समितिका पदाधिकारीहरुबाट योजनाको लागत सात लाख जनाए पनि नगरपालिकाको विवरण प्राप्त भएपछि भवन निर्माणका लागि ११ लाख खर्च व्यवस्थापन भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
चराप कर संकलन केन्द्र निर्माणका लागि ७ लाख रकम नगरपालिकाले दिए पनि उपभोक्ता समितिले पुरानो भवनलाई प्रयोग गरि आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासी देउराम बढुवालले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिएका छन । स्थानीयवासी देउराम बढुवालले दिएको मुद्दामा ७ लाख रकम अनियमित भएको उल्लेख भए पछि नगरपालिकामा बुझ्दा ११ लाखको योजना प्रष्ट भएको प्रशासन कार्यालयको भनाई छ । कर संकलनका लागि भवन निर्माण गर्न ११ लाख रुपैंया प्राप्त गरे पनि पुरानो भवनलाई देखाएर आर्थिक अनियमितता गर्ने उपभोक्ता समितिका विष्णु ऐडी , तारा विक लगायतका व्यक्तिका विरुद्ध मुद्दा दर्ता भएको जिल्ल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
नगरपालिकाद्धारा सञ्चालित विकास आयोजनामा आर्थिक अनियमितता भएको भन्ने मुद्दा कार्यालयमा दर्ता हुन आएपछि त्यसको बास्तविकता बुझने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव अधिकारीले बताए ।