मंसिर ८, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गैर सरकारी संस्था महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ सम्बन्धि ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले विकट क्षेत्रमा रहेका नागरिकहरुलाई सूचना प्रविधिको पहुँचमा पु¥याउनका लागि स्थानीय तहको वडासम्म नै इन्टरनेटको सहज पहुँच पुर्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउनेगरी सूचना प्रविधिको विकास गर्न पनि यसको पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे । नागरिक साझेदारी मोडलको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाईल एप’ संचालनको कामलाई अघि बढाएको पनि स्मरण गराए ।
उनले भने, ‘सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाईल एप संचालनको काम भईरहेको छ ।’ यसले सेवा प्रवाहको कामलाई प्रविधिको माध्यमबाट प्रभावकारी ढंगले संचालन गर्न र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न योगदान पुर्याउने छ ।