असोज ४, बागलुङ । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो । बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक रु पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिनुभयो ।

“पाँच सदस्य गुमाएको परिवारले रु ४४ हजार राहत रकम पाउनुभएको छ”, उहाँले भन्नुभयो । बाइस मृतक परिवारले कुल रु छ लाख १३ हजार राहत रकम पाएका हुन् । यस्तै घाइते दुई जनालाई रु १०÷१० हजार र बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई रु आठ हजारका दरले राहत प्रदान गरिएको हो । आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले रु चार हजार र अन्यले रु एक हजारका दरले राहत बुझेका थिए ।बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्रीसमेत वितरण गरिएको गलकोट युसबी सेवा प्रालिका अध्यक्ष केशवविक्रम सिंहले बताउनुभयो ।
“बाढी प्रभावितका लागि सेनिटाइजर, मास्क, साबुनलगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ”, उहाँले भन्नुभयो । बाढीको घटना थाहा पाउनसाथ तीनै संस्थाका युवाहरु मिलेर राहत अभयिान थालेका थिए । देश–विदेशबाट रहेका नेपालीहरुबाट सहयोग जुटेको युसबी सेवाका अध्यक्ष थापाले बताउनुभयो । लक्जम्बर्गमा रहनुभएका व्यवसायी जितु थापाको पहलमा रु दुई लाख राहत रकम सङ्कलन भएको थियो ।
गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका–४ का एक जनाको ज्यान लिएको थियो । १६ जना अझै बाढीमा बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । बाढी प्रभावितको पुनःस्थापनाका लागि देश–विदेशमा सहयोग अभियान चलाइएको छ ।