• २०८३ असोज २ गते शुक्रवार

कोरोना र नेपालको शैक्षिक यात्रा

साैगात राज बराल पढ्न लाग्ने समय : ३ मिनेट

संसारभरका मानिसहरूले आफूलाई, आफ्नो परिवार र आफ्नो समुदायलाई कोरोनाभाइरस रोगबाट जोगाउन सावधानी अपनाइरहेको बेला यो पनि महत्त्वपूर्ण छ कि विद्यार्थीहरुले आफ्नो शिक्षा र सिक्ने कुरा जारी राख्न सक्नुपर्छ र त्यसको लागि स्वागतयोग्य, सम्मानजनक, समावेशी र सबैका लागि सहयोगी वातावरण हुन जरुरत छ। एकातर्फ स्वास्थ्य मन्त्रालयले करिब १५००० जना व्यक्तिमा कोरोना संक्रमित हुने प्रारम्भिक अनुमान गरेको छ भने अर्कोतर्फ शिक्षा मन्त्रालयले कोरोनाको स्थिति नियन्त्रणमा आएपछि एस.ई.ई(SEE) र बाँकी रहेको विश्वविद्यालयको परीक्षा लिने भन्ने निर्णय गरेको छ।

सरकारको यस्तो दोधारे नीतिले एकातर्फ विद्यार्थीलाई मनोवैज्ञानिक तनाव दिएको छ भने अर्कोतर्फ लाखौं विद्यार्थीको भविष्य अन्धकारमा पारेको देखिन्छ। काठमाडौँ विश्वविद्यालयले परिस्थितिको मूल्यांकन गर्दै सम्पूर्ण परीक्षाहरु स्थगित गरेर आन्तरिक मूल्याङ्कनलाई आधार लिएर ग्रेडसिट बनाउने निर्णय गरेको छ। यस्तो अवस्थामा केही नगरी बस्ने विश्वविद्यालय हरुले काठमाडौँ विश्वविद्यालयको परीक्षा पद्धति अवलम्बन गर्नुपर्छ। अन्य विश्वविद्यालय जिम्मेवार पदाधिकारीलाई प्राज्ञिक परिषदको बैठक आह्वान गरेर उचित निर्णय लिनैपर्छ।

विश्वविद्यालयको ऐन अनुसार परीक्षाको मोडालिटी(modality) टोक्ने अधिकार प्राज्ञिक परिषद्लाई रहेको छ। प्राज्ञिक परिषद्ले परीक्षाको मोडालिटी टोक्न सक्छ र सधैँ लिखित परीक्षा गर्नैपर्छ भन्ने हुँदैन। आवश्यकताको सिद्धान्तलाई टेकेर परिस्थिति आधार लिएर निर्णय गर्नु नै उपयुक्त हुन्छ । बिशेषतः हाम्रो शिक्षा सेमेस्टर प्रणाली तर्फ गरिसकेको अवस्था छ। केही अपवादलाई छोड्ने हो भने नेपालमा सेमेस्टर प्रणालीको विषयमा विश्वविद्यालय प्रध्यापकहरुमा नै अज्ञानता देखिएको छ। सेमेस्टर प्रणाली भनेको विषयगत प्राध्यापकले मुल्यांकन गरेर सम्पूर्ण विद्यार्थीको ग्रेडसिट तयार गर्नु सेमेस्टर प्रणालीको मर्म रहेको छ भने अर्को उद्देश्य विश्वविद्यालयको आर्थिकभार समेत कम गर्नु हो। यद्यपि हाम्रो विश्वविद्यालयको शिक्षा प्रणालीमा भने सम्पूर्ण ग्रेडसिटको केन्द्रकृत व्यवस्था गरेर प्राध्यापकलाई विद्यार्थीको क्षमता कति हो भन्ने जाँच्ने अवसरबाट वञ्चित गराएको छ। अंग्रेजीमा एउटा भनाइ छ कागजको एक पानाले विद्यार्थीको क्षमतालाई न्याय गर्ने आधार हुन सक्दैन।

यस्तो अवस्थामा वैकल्पिक मार्गको अवलम्बन गर्न सकिन्छ। संयुक्त राज्य अमेरिकामा विश्वविद्यालयहरूले परिस्थितिको गम्भीरतालाई ध्यानदिंदै Research paper आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने भइसकेको छ। हाम्रो शिक्षा प्रणालीलाई लागि परिणाममुखी बनाउनका लागि सो पद्धति अवलम्बन अहिलेकै अवस्थालाई आधार लिएर भविष्यमा समेत गर्न सकिन्छ। हार्वर्ड विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक नोम चोम्स्की भन्नुहुन्छ निश्चित अवधिमा दिइएको लिखित परीक्षा मोडेलले असभ्य उत्पादन गर्दछ जुनसँग उच्च ज्ञान छ तर तिनीहरू समाजमा कष्टहरूप्रति उदासीन छन्। अहिलेको विद्यमान शिक्षा प्रणालीले राष्ट्रलाई चाहिने जनशक्ति होइन संयुक्त राज्य अमेरिका र यूरोपलाई प्रयोग हुने उत्पादन गरेको छ। विदेशी मुलुकको पाठ्यपुस्तक कपी गरी पठनपाठन हुने भएकोले हाम्रो प्रारम्भिकदेखि उच्च तहसम्मको पाठ्यक्रम र पाठ्यपुस्तकहरु आफ्नै देशलाई आवश्यक पर्ने अवस्थासँग खासै मेल खाँदैनथे ।

हाम्रो शिक्षा प्रणालीबाट विद्यार्थीले वास्तविक नेपाली समाजको यथार्थ पढ्नै पाएन र हाम्रो आवशयकताको समाधान पनि हुन सकेन । आफ्नो देशको स्रोत र साधन उपयोग गर्ने ज्ञान नभएका विद्यार्थीले ज्ञानको माध्यमबाट देश विकासको लागि ठोस योगदान दिन सक्दैनन् । आजको हाम्रो बिडम्बना यही हो । पछिल्लो समय बढ्दै गएको गरिबी र विदेश पलायन यसको ज्वलन्त उदाहरण हो । यसर्थ देशको आवश्यकता र संघीय लोकतान्त्रिक गणतन्त्रको विश्लेषण गरी नयाँ शैक्षिक व्यवस्था सुरु गर्नु आजको आवश्यकता हो । यस्तो अवस्थामा नैतिकताले भरिएको शिक्षाको सुरुवात गर्नु उपयुक्त समय भनेको अहिलेको अवस्था नै हो।

(लेखक LA GRANDEE INTERNATIONAL COLLEGE पोखरामा व्यवस्थापन संकायमा अध्ययनरत छन् )

Sharing

प्रतिक्रिया दिनुहोस