• २०८३ असार ३ गते बुधवार

काठमाडौँ उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाईट सञ्चालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २, काठमाडौँ । काडमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन थप ३ स्थानका ट्राफिक लाईट सञ्चालनमा ल्याइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र ललितपुर महानगरपालिकाको सक्रियतामा पुल्चोक र हरिहर भवनको ट्राफिक लाईट नयाँ जडान गरेको र अल्का अस्पताल अगाडीको ट्राफिक लाईट मर्मत गरी सञ्चालनमा ल्याइको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिनुभयो ।

उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानिय तहसँग समन्वय गरी ट्राफिक लाईट जडान गर्न पहल भईरहेको बताए । ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (अनामनगर जाने चोक), पद्मोदय (सभागृह जाने चोक), पुतलिसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाईट ट्राफिक महाशाखाको सडक विभागसँग पहल गरी यस अघि नै सञ्चालनमा रहेको कुरा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वामदेव गौत्तमले बताए ।

साथै सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्न जाने हुँदा सम्बन्धित सम्पूर्ण चालक तथा पैदलयात्रीहरूले सबै किसिमका ट्राफिक नियमहरूलाई पूर्ण रूपमा पालना गर्न सबैलाई महाशाखाले अनुरोध गरेको प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौत्तमले जनाउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस