मंसिर २, काठमाडौँ। नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखा अस्पतालमा पालुङटार नगरपालिका -७ च्याङलीका ८३ वर्षीय पुरुषको उपचारको क्रममा मंगलवार विहान ७ बजेर २५ मिनेटमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भएका उनी यही कात्तिक २७ गते अस्पताल भर्ना भएका थिए । उनको आइसियूमा उपचार भइरहेको थियो । उनी फोक्सोको क्यान्सरका बिरामीसमेत रहेको अस्पतालले जनाएको छ । शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । त्यस्तै मोरङ मिक्लाजुङकी ७५ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
गत कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि उनी थत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनको मंसिर १ गते बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए ।