श्रावण २, काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले करोडौं ठगी गरी फरार झापा दमक न.पा. वडा नं. ०७ कृष्णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई पक्राउ गरेको छ । उनलाई झापा, बारा, पर्सा, सर्लाही बस्ने बिभिन्न व्यक्तिहरुलाई बिभिन्न बहानामा ठगी फरार रहेको अवस्थामा भक्तपुरको मध्यपुर ठिमि न.पा.वडा न.३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको हो ।
उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । उनले आफुलाई मनिष अग्रवाल भनेर पनि चिनाउने गरेको थिए। हाल सम्म उनले झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट जम्मा रु ७,८१,४२,०००।– (सात करोड एकासी लाख बयालीस हजार) बराबर ठगी तथा बैंकिङ कसूर गरेको खुल्न आएको छ । उनको अन्य कयौ व्यक्ति तथा उद्योगहरुमा गरेको ठगीको उजुरी आउने क्रममा रहेको पनि प्रहरीले जनाएको छ ।
उनले बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ भने झापा तिर जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको बुझिन आएको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।