जेठ ०४, कास्की । पोखरामा एक युवकको शव मकैबारीमा ४ फिट गाडिएको अवस्थामा भेटिएको छ । पोखरा १४ समिनतारा निवासी २२ वर्षीय युवक विमल रानाभाटको शव सडेको अवस्थामा भेटिएको हो ।
प्रहरीका अनुसार गाडिएको शव जुत्ता समेत नखोलेको र कपडासहित सुताएर गाडेको अवस्थामा फेला परेको हो । प्रहरीलाई विमललाई स्थानीय ज्ञानबहादुर परियारले झण्डै १ महिनाअघि घनले हानेर हत्या हत्या गरि मकैबारीमा गाडिएको छ भन्ने सूचनाका आधारमा प्रहरीले मकैबारीबाट उक्त शब निकालेको हो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जना स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा १४ समिनताराका २१ वर्षीय ज्ञानबहादुर परियार, १८ वर्षीय संजय दर्जी, १८ वर्षीय कुमार परियार र बाग्लुङको गल्कोट घर भई अहिले पोखरा १४ समिनतारा बस्ने १९ वर्षीय सागर परियार रहेका छन् ।
मृतक युवक मादक पदार्थ सेवन गर्दै हत्या आरोपित ज्ञानबहादुर नहुँदा पनि उनको घरमा जाने गरेको बताइएको छ । शंकाकै भरमा ज्ञानबहादुरले विमलको हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।