• २०८३ बैशाख १८ गते शुक्रवार

पीसीआर परीक्षणमा कालोबजारीको अरोपमा दुई अस्पताल कारवाहीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पीसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो । सरकारी क्यान्सर अस्पताललाई सरकारले नै तोकेको शुल्कभन्दा बढी शुल्क लिएको आरोपमा कारवाही गर्नुलाई दुर्लभ घटनाका रूपमा लिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशसँगै गौतम रु आठ लाख धरौटी राखेर तारेखमा रिहा भएको शर्माले जानकारी दिए । गौतमले निजी रकम जम्मा गरेर रिहा भएको अस्पतालले जनाएको छ । धरौटीका लागि सञ्चालक समितिको निर्णयबिना अस्पतालको रकम निकासा गर्न नमिल्ने भएपछि गौतमले निजी रकमको व्यवस्था गरेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस