पुस १, एजेन्सी। जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले संघर्षपुर्ण जित निकालेको छ । गएराति भएको खेलमा डर्टमुन्डले वेर्डर ब्रेमेनमाथि उसकै मैदानमा २-१ को संघर्षपुर्ण जित निकालेको हो ।
ब्रेमेनमा मंगलबार राति भएको खेलमा डर्टमुन्डको जितमा राफायल गुरेइरो र मार्को रिउसले गोल गरे । घरेलु टोलीका केभिन मोहवाल्डले एक गोल फर्काए । खेलको १२औं मिनेटमा राफायल गुरेइरोको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । उनले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेको थियो । २८औं मिनेटमा केभिन मोहवाल्डले म्याक्सिमिलियन इगास्टिनको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
७८औं मिनेटमा डर्टमुन्डले पेनाल्टीमार्फत अग्रता लिने मौका पाएपनि कप्तान मार्को रिउस पेनाल्टीमा चुके । तर गोलरक्षक पाभेलेन्का बल प्रहार गर्नुअघि नै अघि बढेपछि डर्टमुन्डले पुन पेनाल्टी पाएको थियो । रिउस दोस्रो पेनाल्टीमा सफल हुदै डर्टमुन्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्ड विजयी हुन सफल भयो ।
यो जितसँगै डर्टमुन्ड १२ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित ब्रेमेन ११ अंकसहित १३औं स्थानमा छ ।