मंसिर १, काठमाडौँ । महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो ।

वि सं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुयार्एको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको कामपा वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको थियो ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा यो पोखरी बनाए । पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ विसं १७२५ मा सम्पन्न भएको थियो । नेसं ७९० अर्थात् विसं १७२७ अर्थात् इसं १६७०० मा शिलापत्र राखिएको थियो ।