• २०८३ असार १४ गते आइतवार

भारतबाट २ हजार ३१५ जना नेपालीहरु नेपाल भित्रिए

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

असार १, सुदूरपश्चिमका । लम्की सुदूरपश्चिमका मुख्य दुई नाकाबाट आइतबार दुई हजार ३१५ नेपाली नेपाल भित्रिएका छन् भने ५४८ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीका लागि भारत तथा नेपालमा रहेका उनीहरू लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आ-आफ्ना देश आउने जाने गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४८१ नेपाली भित्रिएका छन् भने २७४ जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । शनिबारको तुलनामा भारतीय नागरिक बाहिरिने सङ्ख्या बढेको छ भने नेपाली आउने क्रम पनि बढेको छ ।

त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको सङ्ख्या शनिबारको तुलनामा बढेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक प्रतीक विष्टका अनुसार गौरीफन्टा नाकाबाट शनिबार एक हजार ३५४ नेपाली भित्रिएकोमा आइतबार एक हजार ८३४ जना भित्रिएका छन् ।

उक्त नाकाबाट २७४ भारतीय नागरिक बाहिरिएका छन् । शनिबार ५८० जना भारतीय नागरिक आफ्नो देश फिर्ता भएका थिए । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १२ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १६ हजार बढी पुगेको छ ।

नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी उद्धार गरेका छन् । भारतबाट दैनिक नेपाली भित्रिएसँगै स्थानीय तहका क्वारेनटाइनसमेत भरिभराउ भएका छन् । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा बसेर परीक्षणपछि मात्र घर जान पाउने व्यवस्था गरिएकोछ ।

Sharing

प्रतिक्रिया दिनुहोस