असार १, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे निर्णय गर्न बोलाइएको बैठक नेताहरुबीच सहमति नजुटेकाले स्थगित भएको हो ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ रहेकाले बैठक स्थगित भएको जानकारी दिए ।
नेकपा स्रोतका अनुसार एमसीसी परियोजनाबारे शीर्ष नेताहरुबीच सहमति जुटन नसक्दा बैठक स्थगित भएको हो । यसअघि पनि २७ जेठमा बोलाइएको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको थियो । आइतबारको बैठकमा स्थायी कमिटी सदस्य एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य भीमबहादुर रावललाई समेत आमन्त्रण गरिएको थियो ।
नेकपाभित्र लामो समयदेखि एमसीसी सम्झौता संसदबाट संशोधनसहित वा यथास्थितिमै पारित गर्ने भन्ने बारेमा लामो बहस हुँदै आएको छ । सोही विवाद नटुंगिदा बैठकसमेत प्रभावित बनेको छ । अर्को बैठक कहिले बस्ने टुंगो छैन । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसदबाट पारित गरिसक्नुपर्ने छ । तर शीर्ष नेताहरुबीच सहमति नजुटदा अन्योल सिर्जना भएको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।