चैत २६, काठमाडौं । शपथग्रहण गरेको १२ दिन बितिसक्दासमेत प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले संसद्लाई सम्बोधन गरेका छैनन् । आगामी २९ चैतमा जारी अधिवेशन अन्त्य गरी बजेट अधिवेशन डाक्ने तयारीमा सरकार छ । राष्ट्रपति रामचन्द्र पौडेलले २७ चैतमा संसद्लाई सम्बोधन गर्ने कार्यतालिका छ ।

तर, अहिलेसम्म शाहले प्रधानमन्त्रीका हैसियतमा संसद्लाई सम्बोधन गर्ने र प्रश्नोत्तर गर्ने तालिका सार्वजनिक भएको छैन । विगतमा प्रधानमन्त्री नियुक्ति भएलगत्तै संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन थियो । त्यसो त, प्रधानमन्त्री शाहले सातवटै प्रदेशका सांसदसँगको भेटमा समेत आफ्ना कुरा राखेनन् । उनले संसद् र रास्वपा संसदीय दलको बैठकमा पनि सम्बोधन गरेका छैनन् ।
जुन संसदीय दलले उनलाई दलको नेता बनायो, त्यही संसदीय दलमा उनले सम्बोधन गरेका छैनन् । गत १२ चैतमा सांसद र १३ चैतमा प्रधानमन्त्रीको शपथ लिएका शाहले यसबीच पटकपटक मन्त्रिपरिषद् बैठक राखेर विभिन्न निर्णय गराइसकेका छन् । संसद्को जारी अधिवेशन अन्त्य हुँदै छ । बजेट अधिवेशन बोलाउन ढिलाइ हुने कारण देखाउँदै सरकारले अधिवेशन अन्त्य गर्न लागेको हो ।
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै सरकारको काम, गतिविधि, आउने दिनमा सरकारले गर्न खोजेको विविध कामलगायत जानकारी दिने चलन रहँदै आएको छ । सरकारले २९ चैतभित्र संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । त्यसअघि २७ चैतमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
अधिवेशन अन्त्यअघि संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले बुधवार सूचना जारी गर्दै राष्ट्रपति पौडेलले सम्बोधन गर्ने जानकारी गराएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।