साउन ३०, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र काठमाडौँ जिल्लामा पाँच, ललितपुर र भक्तपुर जिल्लामा चाररचार वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारवाहीलाई तीव्र बनाइएको छ ।विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा निर्देशनअनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्र र २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा चल्ने सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधनमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरीको पालना गर्न गराउने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउनेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातहतका निकायलाई बिहीबार मन्त्रालयले जरुरी सूचनामार्फत निर्देशन जारी गरेको छ ।मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म मास्क प्रयोग नगरी हिँड्ने चार लाख १९ हजार बढीलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।