कात्तिक २७, भारत । भारतबाट नेपाल आउँदै गरेका ३ जना नेपालीको कार दुर्घटनामा मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन्। दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा २ बाग्लुङका श्यामकुमार घर्ती, बिवश पुन मगर र जनकपुरकी लक्ष्मी शर्मा रहेको जनाइएको छ ।
घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ । आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो। अनियन्त्रित गतिका कारण दुर्घटना भएको बताइएको छ । भारतीय संचारमाध्यमका अनुसार कार मङगलवार राती ट्याक्सी मथुराको बलदेव थाना अन्तर्गत माइलस्टोन १३५ मा दुर्घटनामा परेको हो । दुर्घटनाका कारण ट्याक्सी नराम्ररी क्षतिग्रस्त भएको छ। उक्त कार दिल्लीमा टूर एण्ड ट्राभल्स सञ्चालन गर्ने कुनै नेपालीहरुले चलाउने गरेका थिए ।