कार्तिक २७, काठमाडौँ। गत आथिक वर्षमा जनता बैंकलाई मर्ज गरेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष ९०७६ र ७७० को प्रथम त्रैमासमै एक अर्बमाथि मुनानाफा आर्जन गरेको छ । प्रथम त्रैमासको अपरिस्कृत विवरणअनुसार बैंकले एक अर्ब ५ करोड ८८ लाख ४० हजार खुद मुनाफा आर्जन गरेको छ ।
बैंकको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४०.५९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड ३१ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २२ करोड ६१ लाख ६१ हजार रहेको छ । कोभिड १९ को प्रभावको बाबजुत पनि बैंकले जनता बैंकलाई मर्ज गर्दा उल्लेख्य प्रगति गरेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि कमिसन आम्दानी वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीका लागि प्रोभिजन बढाउँदा पनि सञ्चालन मुनाफा भने बढेको छ ।
पहिलो त्रैमासमा बैंकले दुई अर्ब ५९ करोड ६६ लाख ९ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ६५.७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ५६ करोड ४७ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको थियो । बैंकको प्रोभिजन बढ्दा आम्दानीको तुलनामा नाफा बढ्न सकेन ।
बैंकले सम्भावित कर्जा जोखिमबापतको व्यवस्थाका लागि गरेको प्रोभिजन बढेको छ । गत आवको पहिलो त्रैमासमा २७ करोड ०८ लाख ७४ हजार प्रोभिजन गरेको बैंकले यो आवको सोही अवधिमा ५१ करोड ७० लाख ४ हजार मात्रै प्रोभिजन गरेको छ । यस्तै बैंकले असोज मसान्तसम्ममा १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब चार करोड २३ लाख ७६ हजार रहेको थियो ।
१८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा नौ अर्ब २६ करोड ७१ लाख ७६ हजार र सञ्चित कोषमा १ अर्ब ८४ करोड ४७ लाख २५ हजार रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेकाले प्रस्तावित लाभांश वितरणपश्चात बैंकको सञ्चित कोष घट्नेछ । जसको प्रभाव प्रतिसेयर नेटवर्थ र आम्दानीमा पनि पर्नेछ ।
बैंकले असोज मसान्तमा दुई खर्ब २४ अर्ब २३ करोड ७५ लाख ७ हजार निक्षेप संकलन गरेर एक खर्ब ९५ अर्ब ७३ करोड १२ लाख १ हजार कर्जा लगानी गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा बैंकले दुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार निक्षेप संकलन गरेर एक खर्ब ८९ अर्ब ३८ करोड ८६ लाख ६४ हजार कर्जा लगानी गरेको थियो ।
बैंकको निष्क्रिय कर्जा बढेर १.८३ प्रतिशत पुगेको छ । गत वर्ष बैंकको निष्क्रिय कर्जा ०.४२ प्रतिशत थियो । बैंकको पुँजीकोष अनुपात १२.५० प्रतिशत छ । त्यस्तै कोषको लागत ५.३९ प्रतिशत, आधार ब्याजदर ७.२५ प्रतिशत र ब्याजदर अन्तर ५.०३ प्रतिशत छ । बैंकको सीसीडी रेसियो ७२.५२ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात १२.१९ गुणा छ ।