कार्तिक २७, काठमाडौँ। दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो ।
अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ । एन्फा स्रोतका अनुसार कोरोना देखिएको ती खेलाडीलाई अस्पतालको एकान्तबासमा राखिएको छ । उनको अवस्था सामान्य रहेको छ । खेलाडीको परिचय गोप्य राखिएको छ । नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै नेपालले मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । गत हप्ताको रिपोर्टमा उनीसहित २५ खेलाडी र ११ अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो ।